२०८१ श्रावण १२

कृषि मेलाको २५ हजारले गरे अवलोकन
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ६, शनिबार १४:३१ गते

बुटवल ६ फागुन ।
यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेला–२०७९ शनिबार सकिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा २५ हजार उपभोक्ताले अवलोकन गरेको र मेला भित्र २० लाखको कारोवार भएको संघका अध्यक्ष तथा मेलाका संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी गराए ।
मेलाको समापन गर्दै लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले कृषिको विकास विना मुलुकको आर्थिक विकास सम्भव नभएको बताउँदै किसानका समस्या समाधान गरेर मुलुकको अर्थतन्त्रलाई थप गतिशिल बनाउने गरी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मुलुकको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य रहेको बताउँदै कृषिको विकासको लागि नगरपालिकाले ठूलो योजना बनाएको बताए ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघले २०६२ सालदेखि नियमित रुपमा कृषि मेला गर्दै आएको बताए ।
मेलाको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जमशेर अली मिया, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सहभागी स्टल भैरव च्याउका सञ्चालक केशव कार्की, लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम न्यौपानेलगायतले कृषि क्षेत्रको चर्चा गरेका थिए ।
मेलामा गुप्ता नर्सरी उत्कृष्ट
बुटवलको बालमन्दिर परिसरमा सञ्चालन गरिएको एघारौं संस्करणको कृषि मेलामा गुप्ता नर्सरी सर्वोत्कृष्ट भएको छ । स्टलतर्फ तिलोत्तमा ४ रुपन्देहीको गुप्ता नर्सरी सर्बोत्कृष्ट भएको छ भने मनमित श्री ट्रेडिङ भैरहवा प्रथम, जैविक कफि तथा मसला प्रशोधन उद्योग ठूला पोखरा अर्घाखाँची द्वितीय, जलदेवी मत्स्य उत्पादन सहकारी सियारी रुपन्देही तृतीय, बुटवल कृषि प्रशोधन उद्योग बुटवल सान्त्वना र चाईनिज बार्बीक्यू रेष्टुरेन्ट बुटवलले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै प्रविधि तर्फ नेचुरल दुना टपरी बुटवल प्रथम, भैरव च्याउ उद्योग पाल्पा द्वितीय, लुम्बिनी च्याउ भण्डार रुपन्देही तृतीय र संघर्ष कृषि तथा पशुपंक्षी फार्म देवदह सान्त्वना भए । त्यस्तै बालि तर्फ उपेन्द्र बहादुर शाही बाणगंगा कपिलबस्तु प्रथम, प्रेमबहादुर पाण्डे बाणगंगा कपिलबस्तु द्वितीय, रोषनबहादुर थापा सिद्धार्थनगर रुपन्देही तृतीय र पाण्डे ब्रदर्श एग्रो फार्म देवदह रुपन्देही सान्त्वना भएको मुल्यांकन तथा पुनरावलोकन समितिका संयोजक संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले बताए ।