२०८१ श्रावण १२

स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १६, मंगलवार १६:३८ गते

बुटवल, १६ फागुन ।
बुटवलमा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ ।
आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैची, रेती, घनलगायतका उपकरण दिइएको हो ।
उहाँहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले परम्परागत रुपमा आरन चलाएर जीविका चलाउँदै आएका ११ जनालाई पेशालाई निरन्तरता दिदै स्वरोजगार बन्न मदत गरेको बताए ।
उनले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताए । उपप्रमुख सावित्रादेवी अर्यालले लोप हुन लागेको पेशालाई आधुनिक उपकरणमार्फत स्वरोजगार बन्ने प्रेरित गर्ने गरी उपकरण सहायता गरेको बताइन ।
बुटवल उपमहानगरपालिकाका आन्तरिक श्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकाहरुलाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरेको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताए ।