२०८१ श्रावण १२

नवउद्यमशाला कार्यक्रमः ओैद्योगिक विकासमा सहयोग पुग्ने विश्वास
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १९, शुक्रबार १२:४० गते

बुटवल १९ फागुन ।
रुपन्देहीमा सञ्चालित दोस्रो चरणको नव उद्यमशाला (विजनेश इन्कुवेशन कार्यक्रम) सकिएको छ । बुटवलमा डेमो डे सहित यो कार्यक्रम सकिएको हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा उद्यमशिलता विकासको लागि नव उद्यमशाला कार्यक्रम गरिएको थियो ।
छ महिने यो कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले मुलुको आर्थिक विकासको लागि ओैद्योगिक विकास अपरिहार्य रहेको बताउँदै विजनेश इन्कुवेशन कार्यक्रममले ओैद्योगिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यो कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरे।
कार्यक्रमको बारेमा जानकारी गराउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगमा सुरुवात गरेका नव उद्यमी र उद्योग गर्न चाहने युवाहरुलाई उद्यमशिलता विकासको लागि कार्यक्रम गरिएको बताए । उनका अनुसार पहिलो चरणमा सञ्चालित कार्यक्रममा सहभागी उद्यमीहरुको उद्योग व्यवसाय थप व्यवस्थित पनि भएको र सफल उद्यमीको रुपमा अगाडि बढेका छन् । यो कार्यक्रममा सहभागिले पनि राम्रो गर्ने उनले विश्वास ब्यक्त गरे।
त्यस अवसरमा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रलयका उपसचिव विजयकुमार कार्कीले साना उद्यमीलाई मन्त्रालयबाट हुने सुविधाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव दिपकराज नेपाल, बुटवल उद्योग वाणिज्य संघका सल्लाहकार पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, अन्तरप्रेरणाका अशिम श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए।

दुई वर्ष भित्रका नवउद्यमी तथा उद्यममा लगाव भएका २७ जनाले यो कार्यक्रममा सहभागिताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ७ जनालाई छनौट गरिएको थियो भने ६ जना कार्यक्रममा सहभागि थिए । संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको धन्यवादमा भएको कार्यक्रमको सञ्चालन महासचिव बिमलराज भट्टराईले गरेका थिए ।