२०८१ श्रावण १२

तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदै
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २३, मंगलवार ०१:१७ गते

बुटवल,२३फागुन ।

तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ । आपसमा रङ र अबिर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्वमा एक आपसमा रङ र अबिर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लामा आज सार्वजनिक बिदा छ ।असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराईका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा भने हिजो होली मनाइएको थियो ।