२०८१ श्रावण १२

राष्ट्रपति निर्वाचन आज, आजै परिणाम आउने
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २५, बिहीबार ०८:३५ गते

बुटवल २५ फागुन ।

नयाँ राष्ट्रपति चयनका लागि  मतदान सुरु भएको छ ।  मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । मतदानस्थलमा प्रज्वलनशील पदार्थ, हातहतियार, मोबाइल र क्यामेरा निषेध गरिएको छ । मतदानका लागि महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था गरिएको छ ।

मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ ।