२०८१ भाद्र २६

दक्षिण कोरियाका २ सय बौद्ध तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ३०, मंगलवार १३:५५ गते

 

बुटवल ३० फागुन ।
दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदलयात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन । उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका विच मंगलबार स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन ।


कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरुलाई रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीहरुलाई बुद्धजन्मस्लमा खादा ओढाएर स्वागत गरे । कोरियाली बौद्ध तीर्थयात्रीहरुको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए । पुजा तथा प्राथनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिती रहेको थियो ।
प्राथना र पूजा कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्ल लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाविचको सम्बन्ध थप प्रगाढ बनेको बताए । उनले नेपाल र दक्षिण कोरियाविच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको बताए ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल मायादेवी प्राङगणमा स्वागत गर्न पाउदा खुशी लागेको बताए । उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तयले नेपाल सरकार र नेपाली समुदायको तर्फबाट स्वागत गरे । उनले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यहि महिनामा बुद्धमार्गलाई पछ्याउँदै कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरुका लागि खुशिको क्षण रहेको बताए । उनले अग्रज भिक्षु सहितको तीर्थयात्रीहरुको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै मजबुद बनेको बनाए । उनले दक्षिण कोरियाबाट उच्च तहका भिक्षु सहितको बौद्ध तीर्थयात्रीहरुको लुम्बिनी भ्रमणले विश्वमा सकरात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । भारत स्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन । मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङगणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु भिक्षु छासुङ्गले प्रवचन दिएका थिए ।
उक्त अवसरम लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिती थियो । फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो । लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरुबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरुको ठूलो–ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटनक्षेत्रलाई उर्जा थपेको कोषका बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । उनले चिनबाट पनि फेरी यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको बताए । टोलीमा दक्षिण कोरियाबाट त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमको समेत सहभागिता थियो । कोरियाली बौद्ध धर्माम्बलम्बीहरुको टोली बुधबार विहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ । तीर्थयात्रीहरुलाई मंगलबार विहान नेपाल भारत सिमा बेलहिया नाकामा पनि स्वागत गरिएको थियो ।