२०८१ श्रावण १२

आफ्नै नेतृत्वमा लुम्बिनीमा सरकार गठन गर्ने कांग्रेसको निर्णय
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १०, शुक्रबार १५:१९ गते

बुटवल १० चैत ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले लुम्बिनीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने ठहर गर्दै यस्तो निर्णय गरेको हो ।

विगतमा कांग्रेसको सहयोग तथा सहभागितामा माओवादीले सरकारको नेतृत्व गरिसकेकाले अबको नेतृत्व कांग्रेसले गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ । बैठकपछि कांग्रेसका नेता तथा प्रदेशका पूर्वमन्त्री वीरबहादुर रानाले एमाले नेतृत्वको सरकारमा सहभागी दलहरूलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि आह्वान गरिएको बताए ।

एमाले नेतृत्वको सरकारबाट बाहिरिएपछि थप प्रक्रिया अगाडि बढ्ने भन्दै रानाले पहिला सरकारबाट बाहिरिन आह्वान गरेको उल्लेख गरे । लुम्बिनी प्रदेशमा माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको अवस्थामा कांग्रेसले यस्तो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार तथा जसपा, लोसपा र जनमतका तीन–तीन सदस्य छन् । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक तथा स्वतन्त्रबाट दुई प्रदेश सभा सदस्य छन् ।