२०८१ श्रावण १२

नवीनको विज्ञान समूहमा शुभकामना तथा विदाई कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १८, शनिबार १४:५० गते

बुटवल १८ चैत्र ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विज्ञान समूह कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना तथा विदाई कार्यक्रम शनिबार सम्पन्न गरेका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा तथा जन स्वास्थ्य एवं वित्त व्यवस्थापन महाशाखा प्रमुख मित्रमणि खनालले बुटवललाई शैक्षिक गन्तव्य बनाइ कक्षा १२ पछिका मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षालाई बुटवल मै तयारी गरी बुटवल उपमहानगरपालिकालाई देशकै उत्कृष्ट शैक्षिक स्थलका रुपमा चिनाउन र शैक्षिक गतिविधिहरुमा सधै सकारात्मक सोचका साथ अगाडि बढ्नलाई कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय बुटवल अधिकृत बाबुराम भण्डारीले विद्यार्थीहरुमा अनुशासन, स्वाबलम्बन, नैतिकता, देश प्रतिको माया र गुरु प्रति सम्मानको भावना हुनुपर्ने धारणा राखे । नवीनका विद्यार्थीहरुको उपस्थिति डाक्टर, इन्जिनियर बन्ने मात्र नभएर परिबर्तनशिल समय अनुसार देशकै उच्च ओहदा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा पुगेर नवीनले दिएका नवीनतम कुराहरु अगाडि बढाउन उनले सुझाव दिए।
कक्षा ११ विज्ञान समूहकी विद्यार्थी गीता भुसालको अध्यक्षतामा, अंकिता पराजुली र आयुष सिवाकोटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, कानुन समूहका इञ्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, जीवि विज्ञान बिषय संयोजक रोशन तिवारी भौतिकशास्त्र शिक्षक भीमराज खनाल, एमबिबिएस तीन नम्बरमा छात्रा तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सुवेक्षा गहतराज, समीर भुसाल, नवीन विद्यार्थी क्लबका निवर्तमान अध्यक्ष विशाल पोखरेल, नवीन विद्यार्थी क्लबकी अध्यक्ष जुना परियार, हिरा सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


उक्त अवसरमा विज्ञान समूह दोस्रो ब्याच अध्ययन गरी उत्कृष्टता प्राप्त गरेका ११ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । जसमा चिकित्सा शिक्षा आयोगद्वारा लिएको चिकित्साशास्त्र स्नातक तह (MECEE-BL 2023) को एमबीबीएस शैक्षिक कार्यक्रम अन्तर्गत एकीकृत प्रवेश परीक्षामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पूर्ण छात्रवृत्तिमा छात्रातर्फ ३ नम्बरमा नाम निकाल्न सफल शुवेक्षा गहतराज, आयुर्वेद मेडिसिन तथा सर्जरी (BAMS)मा पूर्ण छात्रवृत्तिमा नाम निकल्न सफल सोनिया घिमिरे, पुल्चोक इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हरि बहादुर रणपाल, पोखरा विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल दिव्या खनाल र वर्षा आचार्य, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा पक्लीहवामा पूर्ण छात्रवृत्तिमा एलिशा ज्ञवाली, र अन्य विश्व विद्यालयमा छात्रवृतिमा नाम निकाल्न सफल समिर भुसाल, बबिता खत्री, अनुपम घिमिरे, नवीन रानाभाट र प्रतीक काफ्लेलाई प्रमुख अतिथि मित्रमणि खनाल र विशिष्ट अतिथि बाबुराम भण्डारीले सम्मान गरेका थिए ।
विज्ञान समूह पहिलो ब्याजका विद्यार्थीहरुले २०७८ को राष्ट्रीय परीक्षा बोर्डद्वारा लिएको कक्षा १२ को बोर्ड परीक्षामा बुटवल उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु तर्फ सर्बोकृष्ट भई दुई लाख पुरस्कार बिद्यालयले प्राप्त गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले रोचक सांस्कृतिक कार्यक्रम नृत्य, कविता प्रस्तुत गरेका थिए ।