२०८१ श्रावण १२

बुटवलका प्रमुखले अर्थमन्त्री समक्ष के कुरा राखे ?
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २८, मंगलवार ०८:०३ गते

बुटवल २८ चैत ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अर्थमन्त्री प्रकाशशरण महत सग भेट गरेका छन ।
अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गरेका छन ।
उपमहानगरपालिकाका अनुसारभेटमा पाण्डेयले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई निर्देशन दिन र आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थमन्त्री समक्ष अनुरोध गरेका छन ।
बुटवलबाट प्रदेशको राजधानी दाङ गएपछि बुटवलका बासिन्दामा निराशा र असन्तुष्टि रहेकाले बुटवलबासीमा उर्जा थपिनेगरी बजेटमार्फत सम्बोधन गर्न अनुरोध गर्दै उनले संघ सरकारले निर्माण गरेका आयोजनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्न र स्थानीय सरकारको समेत अपनत्व हुने गरी कार्यक्रम ल्याउन अनुरोध गरे । राजस्व संकलनदेखि कानून निर्माण र कार्यान्वयनमा संघीयताको मर्मअनुसार कतिपय काम हुन नसकेको बताउँदै नगरप्रमुख पाण्डेयले वित्तिय संघीयता र स्थानीय सरकार आत्मनिर्भर हुने गरी राजस्व बाँडफाँडमा चासो दिन पनि अनुरोध गरे ।
उनले आर्थिक रुपमा सबैतिर निराशा छाइरहेको अवस्थामा संघीय सरकारले उपयुक्त नीति ल्याउँदै जनतामा आशा जगाउनुपर्ने र सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्ने राय व्यक्त गरे ।
भेटका क्रममा अर्थमन्त्री महतले सरकारले छिटै नै नीतिमा सुधार गर्दै जनतामा छाएको निराशा हटाउने गरी काम गरिरहेको बताए । उनले बुटवलको विकासका लागि आफु सधै सकारात्मक रहेको र बुटवलको चित्त बुझ्ने गरी काम हुनेमा विश्वास दिलाएको उपमहानगरपालिकाले जनाएको छ ।