२०८१ श्रावण १२

व्यापार संघमा शुभकामना कार्यक्रम, व्यवसायमा देखिएको संकटप्रति चासो
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २८, मंगलवार ०८:३६ गते

बुटवल, २८ चैत ।
देशमा बढ्दो आर्थिक संकटले व्यापार व्यवसायमा देखिएको असरलाई समाधान गर्न नीतिगत रुपमा राज्यले धेरै सुधार गर्नु पर्ने सुझाव सो क्षेत्रका अगुवाहरुले दिएका छन् । उनीहरुले नीजि क्षेत्रका समस्यालाई राज्यले सम्बोधन गर्दै आर्थिक चलायमान बनाउने कुरामा आफुलाई केन्द्रीत गर्नु आजको आवश्यक्ता रहेको उनीहरुको धारणा रहेको छ ।
रुपन्देही व्यापार संघले नयाँ बर्ष–२०८० को उपलक्ष्यमा मंगलवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले मुलुकमा देखिएको आर्थिक तरलता र चर्को बैंक व्याजका कारण व्यवसाय पलायन हुने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसमा गम्भिर बन्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले व्यवसायीमा देखिएको निराशालाई खुशीमा बदल्ने र समस्याबाट मुक्ति पाउने विषय सबैको साझा चुनौतिको विषय भएको बताए । उनले राज्यले नीजि क्षेत्रलाई अलग राखेर गर्ने काम र नीतिले अराजकता मात्र निम्तिने हुदा व्यवस्थापकिय पक्ष बलियो बनाउनु जरुरी रहेको बताए । उनले राज्यलाई सधै व्यवसायीक क्षेत्रबाट सधै सचेततापूर्वक दवाव दिनु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै स्वार्थकेन्द्रीत गतिविधि बन्द गर्नु पर्ने कुरामा जोड दिए ।

संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले व्यवसायीक क्षेत्रका समस्या र आवश्यकता विषयमा व्यवसायीक संघ संस्थाहरुकावीचमा एकता र सहकार्य जरुरी रहेको बताउदै आफ्ना माग र समस्याका विषयमा एक भएर जान नसक्ने व्यवसायीक संघसंस्थाहरुको औचित्य नभएको धारणा राखे । उनले बुटवलको व्यापार व्यवसायलाई चलायमान बनाउन नया ढंगले सोच्न आग्रह गरे ।
अर्का पूर्व अध्यक्ष पदम प्रसाद श्रेष्ठले पछिल्लो समयमा व्यवसायीहरु धेरै पिडामा रहेको उल्लेख गर्दै त्यसको नीतिगत रुपमा समाधान खोज्नु पर्ने बताए । उनले राजनीति सहि नहुदासम्म राज्यका काम पनि ठिक नहुने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विकास निमार्णको काममा सबैको सहकार्य, दवाव र एकता जरुरी रहेको बताए ।
उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरेले राज्यले उद्योगी व्यवसायीहरुको समस्या बुझ्ने काम गर्न नसकेको गुनासो गर्दै यस क्षेत्रका समस्याहरुमा सामुहिक लडाई जारी राख्नुपर्ने धारणा राखे ।
कार्यक्रम संघका सल्लाहाकार कृष्ण प्रसाद पाण्डे, अध्यक्ष कृष्ण प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारी, बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बसन्त ढकाललगायतले आर्थिक क्षेत्रको बारेमा चर्चा गरेका थिए ।