२०८१ श्रावण १२

घरबहाल घटाउन व्यवसायीकाे अपिल 
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २९, बुधबार १०:५० गते

बुटवल, २९ चैत्र ।

रुपन्देहीका व्यावसायिक संघ, संस्थाले घरबहाल घटाउन सामूहिक अनुरोध गरेका छन्।

रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघको संयुक्त बैठकले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्ताएको भन्दै घर भाडामा अधिकतम छुट दिन अनुरोध गरेको छ।

बैठकले घट्दो र खस्कँदै गइरहेको व्यापारलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता भएको ठहर गरेको छ।

चर्को बैंक ब्याजदर, महँगो घरबहाललगायतका विविध कारणबाट व्यापार व्यवसायमा परेको समस्याका बारेमा बुधबार व्यावसायिक संस्थाको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको हो।

बैठकले चर्को घरभाडा र बैंक ब्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यावसायिक संघसंस्थाहरूको सञ्जालको बृहत् बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ। चर्को बैंक ब्याजका विरुद्ध चरणबद्ध आन्दोलनको खाका बैठकले तय गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ।

बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरू धराशयी हुँदै गइरहेको र त्यसबाट आएको संकटको विषयमा गम्भीर छलफल गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए।

बैठकपछि जारी संयुक्त अपिलमा यस्तो अवस्थामा सुधार गरी मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमा त्यसले राष्ट्र असफल बन्ने बाटोमा जाने खतरा बढ्ने उल्लेख गरिएको छ।

अपिलमा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका कावा महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरबहाल सरोकार संघका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन् ।