२०८१ श्रावण १२

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन
  • लुम्बिनी खोज
  • २०८० बैशाख १, शुक्रबार १०:२३ गते

काठमाण्डौं ३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।

तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् ।
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औँ अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध भएका छन् ।

व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष ढकाल ३० चैत ०७९ देखि महासंघको अध्यक्ष बनेका हुन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । उनलाई शेखर गोल्छाले निर्वाचनस्थल प्रज्ञा भवनमा पद तथा गोपनीयताको शपथग्रहण गराए ।

अध्यक्षको शपथग्रहणलगत्तै उनले आइतबार दुई बजे नयाँ कार्यसमितिको बैठक डाकेका छन् । सोही दिन महासंघ सचिवालय टेकुमा पदभार ग्रहण गर्नेछन् । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ निर्विरोध भएका हुन् । निर्वाचनको दोस्रो चरणमा पुगेका उमेशलाल श्रेष्ठले समर्थन गरेपछि उनी निर्विरोध भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि पहिलो चरणका तीनजना प्रतिस्पर्धीले नै निर्वाचनमा ५० प्रतिशत मतभार कटाउन नसकेपछि उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा हुने भएको थियो । अर्का प्रत्याशी रामचन्द्र संघाई पहिलो चरणकै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउन पूर्वअध्यक्ष कुशकुमार जोशी, चन्द्रप्रसाद ढकाललगायतले पहल गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघाईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । महासंघमा पहिलोपटक त्रिपक्षीय भिडन्त भएको हुँदा पहिलो चरणको निर्वाचनमा नेतृत्व चयन हुन नसकेको हो । पहिलो चरणमा कसैले ५० प्रतिशत मत नकटाए पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।