२०८१ श्रावण १२

वास्तविक कम्युनिष्टहरु एकठाउँ हुनुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८० बैशाख ९, शनिबार १२:२७ गते

भैरहवा, ९ बैशाख ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय कमिटी सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्लेले मुलुकमा भएको परिवर्तनको संस्थागत गर्दै समाजवादतर्फ अघि बढ्न वास्तविक कम्युनिष्टहरु एकठाउँ भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले कम्युनिष्ट पार्टी स्थापनाको उद्देश्य पनि मुलुकको विकास गर्दै आमनागरिकलाई दैनिक जीवनमा सहजता तुल्याउनु रहेको जनाइन् ।
पार्टी सिद्धार्थनगर नगर कमिटीले शनिबार भैरहवामा आयोजना गरेको कम्युनिष्ट पार्टी स्थापना दिवस एवं नगर कमिटीले प्रकाशन गरेको नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै काफ्लेले अहिले कम्युनिष्टहरु छिन्नभिन्न रहेको जनाउँदै अब सच्चा र वास्तविक विचार मिल्नेहरु एकठाउँ भएर मुलुक बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिइन् । ‘हुनत मुलुकमा दुईतिहाई नजिकको कम्युनिष्टको सरकार बन्यो । तर, एक व्यक्तिको सनकको भरमा कम्युनिष्ट सरकार ढल्यो, पार्टीहरु छिन्नभिन्न भए’, उनले भनिन्, ‘ती सच्चा कम्युनिष्ट थिएनन्, पार्टी र जनतामाथि घात गरे । अब वास्तविक कम्युनिष्ट एक ठाउँ होऔं । मुलुक बनाऔं ।’

पार्टी केन्द्रीय कमिटी सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती अधिकारीले पार्टीका विचार र सिद्धान्तलाई पढेर, बुझेर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् ।

पार्टी जिल्ला कमिटी अध्यक्ष अविराम विक, प्रदेश कमिटी सदस्य ऋषिराम शर्मा, जिल्ला सचिवालय सदस्य तारापति भण्डारी, सिद्धार्थ नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेत, नगर कमिटी उपाध्यक्ष सार्दुलमयुर कसौधन लगायतले बोल्दै एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार अन्य कम्युनिष्ट पार्टीको भन्दा राम्रो भएको बताए । उनीहरुले जनताका सुखदुःखमा साथ दिँदै अब कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउँदै लैजानु पर्ने र त्यसको नेतृत्व समाजवादीले गर्नुपर्ने बताए । सिद्धार्थनगर कमिटीले जस्तै सबै कमिटी क्रियाशील भएर काम गरे समाजवादी आउने दिनमा विशाल कम्युनिष्ट पार्टी बन्ने दावी उनीहरुको छ ।