लुम्बिनीमा सरकार गठनका लागि आह्वान

बुटवल,१२ बैशाख।  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका सचिव प्रह्लाद पोखरेलद्वारा मंगलबार जारी सूचनामा बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । यसअघि सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि गिरी नेतृत्वको सरकार ढलेको थिया । सोमबार नेकपा एमालेले धारा ३ र विपक्षी ८ दलले धारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए ।
तर, प्रदेश प्रमुख कार्यालयले मंगलबार धारा २ अनुसार सरकार गठनको आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ । धारा २ वा ३ प्रयोग गर्ने विषयमा अन्योलमा परिरहेका बेला गण्डकीमा धारा २ प्रयोग भएपछि लुम्बिनीका प्रदेश प्रमुखलाई सहज भएको हो ।
गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चाररचार जना सांंसद छन्।
त्यसैगरी जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक र एक जना र स्वतन्त्र एक सांसद छन्। गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ। किनकि एमाले र राप्रपाको ३३ मत मात्र छ ।
बहुमतका लागि ४४ सांसद चाहिन्छ।