२०८१ श्रावण १२

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए  शपथ
  • लुम्बिनी खोज
  • २०८० बैशाख १५, शुक्रबार ०८:१८ गते

बुटवल,१५ बैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चारजनाले शपथ ग्रहण गरेका छन । आज मुख्यमन्त्री कांग्रेसका चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्के (राजेश), नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोष पाण्डे मन्त्री बनेका छन्।

एमालेका लीला गिरी संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। गिरी पदमुक्त भएपछि चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। एमाले नेतृत्वको सरकार ११ वैशाखमा ढलेपछि प्रदेश प्रमुख शेरचनले मंगलबार तीनदिनको समय दिएर संविधानको धारा १६८ (२)अनुसार नयाँ सरकार बनाउन आह्वान गरेका थिए।सोहीबमोजिम कांग्रेस प्रदेश संसदीय दलका नेता चौधरीले ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

शपथपछि मुख्यमन्त्री चौधरीले आजै गठबन्धनमा सामेल केही दलहरूको प्रतिनिधित्व रहने गरी चार सदस्यीय  मन्त्रिमण्डल बनाएका छन्। चौधरी लुम्बिनीका पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्। यसअघि एमाले नेता शंकर पोखरेल दुईपटक मुख्यमन्त्री नियुक्त भएका थिए। त्यस्तै, माओवादी केन्द्रका कुलप्रसाद केसी र एमालेका लीला गिरी मुख्यमन्त्री भएका थिए।