२०८१ श्रावण १२

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु
  • लुम्बिनी खोज
  • २०८० बैशाख २९, शुक्रबार ०७:५५ गते

बुटवल, २९ वैशाख ।

विश्वभरका पर्यटकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजनमा लुम्बिनीमा ३ दिने मार्ट सुरु भएको हो ।

उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गर्दै  विश्व भरका बौद्धमार्गीहरुले लुम्बिनीबाटै यात्रा थालनी गर्न आग्रह गरे । बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको उपाध्यक्ष भिक्षु मैत्तयले बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी, होटल एशोसियशन नेपाल (हान) का अध्यक्ष विनय शाह लगायतले बोल्दै लुम्बिनीसहित नेपालका पर्यटकीय स्थल  भ्रमणका  गर्नु पर्नेमा जोड दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो । मार्टमा नेपालसहित भारत, मलेशिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायत देशबाट २८ वटा ट्राभल/टूर कम्पनीहरु सहभागी भएका छन् ।

शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुति सहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।