२०८१ पुष ११
बुटवल,३१ बैशाख ।
शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आइतबारदेखि आवेदन खुला गरेको हो । जेठ २९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर बुझाई असार ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यसका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भएको हुनुपर्नेछ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको छ । आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । लाइसेन्सको परीक्षा भदौ २३ गते बिहान ११ बजेदेखि हुनेछ।
आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र सङ्कायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य सङ्कायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ । तर, विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर, विज्ञान, कम्प्युटर, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक तह उत्तीर्ण गरेकाको हकमा तालिम नलिए पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
लिखित परीक्षा एकै दिन एक समयमा हुने भएकाले जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो सोही प्रदेश छनोट गर्नुपर्नेछ । तर, एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन पाइनेछैन ।