२०८१ श्रावण १२

मदन–आश्रित स्मृति दिवसमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३, बुधबार ११:३० गते

बुटवल, ३ जेठ ।
नेकपा (एमाले) का तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३०औं स्मृति दिवस रुपन्देहीमा मनाइएको छ । नेकपा एमाले रुपन्देहीले एक कार्यक्रम गरी समृती दिवस मनाएको हो ।
एमाले पार्टी कार्यालय बुटवल सुख्खानगरमा स्वर्गीय भण्डारी र आश्रितको तस्वीरमा टीका र पुष्पगुच्छा चढाइ पार्टीका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यस अवसरमा एमाले पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरी, अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने, केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज शिवराज सुवेदी, केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज सावित्रा अर्याल, एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी लगायतका पार्टीका विभिन्न नेताहरुको उपस्थितिका कार्यक्रम गरिएको हो ।
आजभन्दा तीन दशक पहिले अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा यी दुवै जननेताको रहस्यमय रूपमा निधन भएको थियो । सडक दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा हुँदासम्म पनि घटना भने अझै रहस्यमय रहेको छ ।
कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सही मार्गमा पार्टीलाई एकतावद्ध ढंगले हिंडाउन सकियो भने मात्रै स्वर्गीय भण्डारी र आश्रितप्रति सच्चा श्रदान्जली हुने बताए । अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले स्वर्गीय भण्डारी र आश्रितको गाथा गाउनु भन्दा पनि उहाँहरुले देखाएको मार्गमा पार्टीलाई हिंडाउनुपर्ने आवश्यकतामा जोड दिए ।
एमाले केन्द्रीय सदस्यद्वय शिवराज सुवेदी र सावित्रा अर्यालले स्वर्गीय नेताद्वयको योगदानको चर्चा गर्दै एमाले धेरै जनताले मन पराएको पहिलो पार्टी हुँदाहुँदै पनि दोस्रो शक्तिको रुपमा खुम्चिनुपरेकाले यसको समीक्षा गर्दै आगामी दिनमा पार्टीलाई बलियो अवस्थामा पु¥याउन पार्टीको संम्पूर्ण पंक्ति लाग्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै उमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीले मदन भण्डारी र जीवराज आश्रितबाट धेरै कुरा सिक्नुपर्ने भन्दै उहाँहरुको इतिहासको चर्चा गरेका थिए । कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरेलगायतले पनि भण्डारी र आश्रितको योगदानबारे चर्चा गर्दै पार्टीले लिएको विचार सही भएको बताएका थिए ।