२०८१ श्रावण १२

रोजगार मेलामा साढे पाँच सयको आवेदन
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ११, बिहीबार ०९:३८ गते

बुटवल ११ जेठ ।
बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सय भन्दा पनि बढीले रोजगारीको लागि आवेदन दिएका छन् ।
इन्टरनेशनल लेवर अर्गनाईजेशनको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न दुई दिने रोजगार मेला (जब फेयर) मा ५ सय ५० जना भन्दा पनि बढीले आवेदन दिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले बताए ।
मेलामा आउने अधिकांस कलेज पढ्ने विद्यार्थी छन् । त्यसबाहेक गृहिणी, विविध कारणले काम छोडेर बसेका, बैदेशिक रोजगारीबाट फर्किएका लगायत रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताए । मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए । जसमा करिव ३ सय जनलाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरुबाट उद्योग प्रतिष्ठानहरुमा आवश्यक जनशक्ति अनुसार प्रारम्भिक छनौट गरिएको ती उद्योग प्रतिष्ठानका प्रतिनीधिहरुले बताएका छन् ।
रोगारीको अवसर खोजेर मेलामा आएकाहरुले आफ्नो क्षमता र चाहना अनुसारको कामको छनौट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तरवार्ता गरेर सर्ट लिस्टिङ् गरिएको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार काममा बोलाईने उनीहरुले बताएका छन् ।
मेलाको समापन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले दक्ष जनशक्तिको खोजीमा रहेका उद्योग प्रतिष्ठान र कामको खोजीमा रहेका युवाहरुका लागि मेला फलदायी हुने विश्वास व्यक्त गरिन । मेलाको मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उदघाटन गरेका थिए ।
नेपाली युवा रोजगारीको लागि विदेश जानुपर्ने र नेपाली उद्योगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेकोले यस बिचको तारतम्य मिलाउनको लागि रोजगार मेला गरिएको इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले बताए ।