२०८१ श्रावण १२

आम्दा अस्पताल स्तरोन्नति गर्ने समझदारी
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २०, शनिबार १४:२६ गते

बुटवल२० जेठ ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ।

समझदारीसँगै आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि आम्दा इन्टरनेशनलले आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो।

जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आम्दा नेपालका पूर्व अध्यक्ष डा. रिशिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र बस्यालले आम्दा अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको उपमहानगरपालिकाले जनाएको छ ।
समझदारीअनुसार आम्दा इन्टरनेशनलले आम्दा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने बुटवल उपमहाननगरपालिकाका प्रमुख पाण्डेयले बताए। उनका अनुसार तीनपक्षबीच भएको समझदारीले बुटवलको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मारेको छ ।

आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नतिका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्नका लागि आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको पनि उनले बताए ।
एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा)इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको निमन्त्रणामा जापानको ओकायामा सिटीमा गएको टोलीले त्यहाँका नगरहरुले सञ्चालन गरेका अस्पतालहरुको अवलोकन गर्दै आपसमा अनुभव आदानप्रदान गर्ने सहमति गरेको प्रमुख पाण्डेयले बताए ।
अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने उनको भनाइ छ ।

गत असोजमा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीको बुटवल भ्रमणका क्रममा अस्पतालको स्तरोन्नतिका लागि सहमति गर्दै आवश्यकता अनुसार समझदारी गर्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार आम्दा अस्पताललाई विशिष्टीकृत सेवासहितको स्तरीय अस्पताल बनाउने समझदारी भएको पाण्डेयले बताए।

२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या छन् ।