२०८१ पुष ७

शान्ति समाजको स्थापना दिवसमा झुल वितरण
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २०, शनिबार १४:५५ गते

बुटवल, २० जेठ ।
मानव अधिकार तथा शान्ति समाजको २८ औं आफ्नो स्थापना दिवस देशभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । स्थापना दिवशका अवसरमा रुपन्देही जिल्ला शाखाले बुटवल १३ बेलबास जवईस्थित दृष्टिविहिन संरक्षण केन्द्रमा आश्रित रहेका दृष्टिबिहिनलाई झुल वितरण गरेको छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई कृष्णले गर्मी याममा लामखुट्टेको बिगबिगी रहेको र दृष्टिबिहिनहरुलाई लामखुट्टेको टोकाईबाट लाग्ने रोगहरुबाट जोगाउने उद्देश्यले झुल बितरण गरिएको बताए । कुल १५ जना दृष्टिबिहिन अनाथहरुका लागि झुल बितरण गरिएको शान्ति समाज रुपन्देहीले जनाएको छ ।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा कार्यगर्दै आएको एक स्वयसेवी संस्था हो । रुपन्देही जिल्लामा रहेर पनि खासै कसैको नजर पुग्न नसकेको उक्त दृष्टिविहिन संरक्षण केन्द्रका संरक्षकका रुपमा रहेका पदम नेपालीले गुनासो गरेका छन् ।
संरक्षक नेपालीका अनुसार उक्त केन्द्रमा हाल विभिन्न जिल्लाका १५ जना दृष्टिविहिनहरुले आश्रय लिइरहेका र ति दृष्टिविहिनहरुले बजारका बिभिन्न स्थानमा चोकचोकमा गीत गाएर आफ्नो कला प्रस्तुत गरेर जिवन निर्वाह गरिरहेका छन् । पदम नेपाली भन्छन् –दृष्टिविहिनहरु आफ्नै कला र गला सुकाएर बाँचेका छौं, हामी आफै सिप विकाएर खाएका छौ । बजार क्षेत्रमा होस वा अन्य क्षेत्रमा हामीले गीत गाएर आफुहरु धानिएका छौं ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, पूर्वकेन्द्रिय सदस्य तथा जिल्लाका पुर्वसभापति कृष्ण पराजुली, रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्रका संरक्षक पदम बहादुर नेपाली, नेपाल बजारका प्रवन्धकका विश्वमणी भुसाल, शान्ति समाज रुपन्देहीका सचिव कृष्ण पाण्डे, सहसचिव सिता पौडेल, लगायतले बोल्दै समाजिक क्षेत्रमा समाजले खेलेको भूमीकाको चर्चा गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजले २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको स्मरणिय छ । समय आन्दोलनका रुपमा निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको मानव अधिकार तथा शान्ति समाजले सचेतना अभियान र साहित्यिक कार्यक्रम मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ । त्यस्तै २०७२ सालको भुकम्पपछि राहत अभियान र दलित, गरिब र बिपन्न परिवारका बिद्यार्थीहरुका लागि छात्रबृत्ती लगाएतका योगदान गर्दै आएको छ ।