२०८१ श्रावण १२

शान्ति नमुनामा ह्याकाथन कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २८, आईतवार १४:४२ गते

तिलोत्तमा,२८ जेठ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर विद्यालय ह्याकाथन कार्यक्रम भएको छ ।
तिलोत्तमा नगरपालिकाको एक विद्यालय–एक सिर्जनशील कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुबीच प्रविधिमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको हो । सामाजिक तथा आर्थिक विकासको क्षेत्र अन्तरगत देखा पर्ने विभिन्न प्राविधिक सस्याहरु पत्ता लगाएर त्यसको समाधानको लागि विभिन्न एप्लिकेशन तथा वेव साइट डिजाइन गरी प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले १८ वटा एप्लिकेशनहरु तयार गरी प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा शान्ति नमुना मा.वि.का विद्यार्थीहरु प्रवेश खनाल, विष्णु खनाल र शिव यादवको प्ले स्टोर समुह प्रथम भएको छ । यस्तै शान्ति नमुना मा.वि. कै विद्यार्थीहरु हार्दिक चापागाँई ,रसिस पाठक र सन्जय भण्डारीको युट्युव समुह द्धितीय भएको छ भने शान्तिकै सुदिप बस्याल, विनय भट्टराई र राजन टण्डनको ट्विटर समुह तृतीय भएको छ । शंकरनगर दुर्गादत्त मा.वि. का विद्यार्थीहरु हर्षिता घिमिरे, सदिक्षा कंडेल र डेभेन सुनारको क्विक हिल समुहले प्रोत्साहन स्थान हासिल गरेको छ ।
विद्यार्थीहरुले एचटिएमएल, सिएसएस, सि प्लस प्लस, जाभा स्किृप्ट जस्ता कम्प्युटर प्रोग्रामको प्रयोग गरेर एप्लिकेशनहरु तयार पारेको प्रतियोगिताका संयोजक शेखर पौडेलले बताए ।
शान्ति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ५ का अध्यक्ष रमेश डुमे्र, वडा नं ६ का अध्यक्ष गणेश पाठक, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्याल, नगर कार्यपालिका सदस्य रवि सेन्चुरीलगायतले बोल्दै कार्यक्रमले विद्यार्थीको रुची र क्षमतालाई पहिचान गर्न सकेको बताए । यस क्षेत्रमा विल्कुलै फरक र नयाँ कार्यक्रम रहेको भन्दै उनीहरुले यसको निरन्तरतामा जोड दिए ।
पारस चापागाँईको सञ्चालन र प्रकाश चापागाँईको स्वागत मन्तव्यमा सम्पन्न प्रतियोगिताको मूल्याङ्कनकर्तामा अनन्त पाण्डे, शिव भट्टराई र सुसान्त मल्ल रहेका थिए ।