२०८१ आश्विन ६

नेपाल समाजवादी पार्टीले थाल्यो संगठन विस्तार अभियान , मुद्दा मिल्नेसँग मोर्चा
  • लुम्बिनी खोज
  • २०८० असार २०, बुधबार ०८:१२ गते

बुटवल,२० असार ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन सुरु गरेको छ । ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ मुख्य नारासहित सुरु भएको अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुने प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आमजनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए । अभियान मुख्यतः स्थानीय तहकेन्द्रित हुने छ । संघ र प्रदेशस्तरमा प्रचारात्मक, वैचारिक, व्यवस्थापकीय काम हुनेछन् ।

पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रूपमा स्थापित गर्ने, पार्टी, नेता–कार्यकर्ताको सैद्धान्तिक एवं वैचारिकस्तर अभिवृद्धि गर्ने, तात्कालिक जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचानसहितको संघीयताको एजेन्डालाई सडक, सदन र सरकारमा सशक्त रूपमा उठाउने अभियानको उद्देश्य रहेको छ ।

मुद्दा मिल्नेसँग मोर्चा
नेसपाले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने नीति लिएको छ । अग्रगामी शक्तिहरूको बृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने, अन्य पार्टीमा आबद्ध पहिचानसहितको संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने, स्वतन्त्र रूपमा रहेका प्रतिष्ठित व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउने नीति नेसपाको छ । यस्तै, ध्रुवीकृत व्यक्ति, व्यक्तित्व र नेतृत्वलाई आवश्यकताअनुसार विभिन्न स्तरको अभियानमा जोड्ने नेसपाले जनाएको छ ।