२०८२ जेष्ठ ३
बुटवल २६ असार ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन बुटवलका सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन। मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताए ।
माध्यमिक तहको भर्ना शुरु हुनुअघि आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए। विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफुअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला, उनले भने,विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस्।
उनले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको दरबन्दीलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे ।
नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्कजस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न नगर प्रमुख पाण्डेयले आग्रह गरे।
उनले विद्यालयले आफ्नो क्षमताअनुसार आफै तय गरेका मापदण्डभित्र रहेर भर्ना गर्न र विद्यार्थीलाई पढ्न पाउने अवसरबाट बञ्चित नगर्न आग्रह गरे।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे। उनले विद्यालयमा अनुशासन र विधिको पालनामा जोड दिनुपर्ने बताए।
कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताए। उनीहरुले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताए।