२०८१ माघ २३
काठमाडौ, २ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौँ दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसंगिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, समवेदना र सदभावले आफूहरूलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन्। कार्यक्रममा उनले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताए।
प्रधानमन्त्री दाहालले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गराए। उनले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए।
सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको उनको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको धारणा राखे।
सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।
श्रद्धाञ्जलीसभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।
सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो ।