२०८१ श्रावण १२

केन्द्रीय कार्यसमिति बैठक: आगमी एक वर्षमा ७ लाख सदस्य थप्ने कांग्रेसकाे लक्ष्य
  • लुम्बिनी खोज
  • २०८० श्रावण २, मंगलवार १०:२५ गते

काठमाडौ, २ साउन ।

नेपाली कांग्रेसले आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेकाे छ । यसका लागि कांग्रेसले ‘घरघर जाऔँ पार्टी सदस्य बनाऔँ’ भन्ने अभियान सुरु गर्ने प्रस्ताव ल्याएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका हुन् । महामन्त्री थापाले आगामी ३१ असार २०८१ सम्म अभियान सञ्चालन गरेर ५ देखि ७ लाख सदस्य थप्ने प्रस्ताव पेस गरेका हुन् ।  ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ,’ महामन्त्री थापाले केन्द्रीय समितिको बैठकमा भने ।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका विभिन्न विभागहरूलाई आगामी भदौ १५ सम्ममा पूर्णता दिइसक्न प्रस्ताव पेस गरेका छन् ।

अहिले ४८ वटा विभागहरू रहेको भए पनि महामन्त्री थापाले २२ वटा विभाग थप गर्ने प्रस्तावसमेत गरेका छन् । ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ,’ उनले भने, ‘र, भइरहेका विभागहरू केही विभागहरू थप्न पनि प्रस्ताव गरेको छु ।’ विभागले हरेक ६ महिनामा आफ्नो प्रगति विवरण पनि केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्ने प्रस्ताव समेत उनले गरेका छन् ।