२०८१ माघ १२

आज ४५औँ पुष्पलाल स्मृति दिवस
  • लुम्बिनी खोज
  • २०८० श्रावण ७, आईतवार ०७:५० गते

बु्टवल, ७ साउन ।
आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।
राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण  पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो ।
२०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् ।  सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन्।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ। पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी) ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ। त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन्।