२०८१ श्रावण १२

आप्रवासीहरू चढेको डुङ्गा डुब्दा ४१ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० श्रावण २४, बुधबार ११:३७ गते

बुटवल २४ साउन ।
इटलीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्।

ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए। बाँच्न सफलमध्ये तीन पुरुष र एक महिला छन्। बिबिसिका अनुसार उनीहरू चढेको डुङ्गामा तीन जना बालबालिकासहित ४५ जना भएको उद्धारकर्मीहरूलाई बताएका छन्। उत्तरी अफ्रिकाबाट समुद्री बाटो हुँदै युरोप जाने क्रममा यो वर्ष मात्रै १,८०० जनाले ज्यान गुमाइसकेका छन्।

कसरी भयो दुर्घटना
उक्त डुङ्गा सात मिटरजति लामो भएको बताइएको छ। जीवित व्यक्तिहरूका अनुसार गत साता बिहीवार ट्यूनिशियाको स्फ्याक्सबाट निस्किएको उक्त डुङ्गा केही घण्टामै दुर्घटनामा परेको थियो। एउटा ठूलो छाल बज्रिएपछि डुङ्गा केही बेरमै समुद्रमा डुबेको उनीहरूले बताएका छन्।
त्यसमा चढेकामध्ये केवल १७ जनाले लाइभ भेस्ट लगाएको उनीहरूले बताएका छन्।

उनीहरूका अनुसार एउटा मालवाहक पानीजहाजले उनीहरूको उद्धार गरेर इटलीका तटरक्षकहरू जहाजलाई जिम्मा लगाएको थियो।
इटलीको तटरक्षक बलले उक्त क्षेत्रमा दुईवटा डुङ्गा दुर्घटनामा परेको जानकारी आइतवार दिएको छ। तर ४१ जनाको ज्यान जानेगरी भएको दुर्घटना उसको विवरणमा परे नपरेको स्पष्ट छैन।

ट्यूनिशियाका अधिकारीहरूका अनुसार लाम्पेडुसाबाट झन्डै १३० किलोमिटर टाढा रहेको स्फ्याक्स सुखद जीवनको अपेक्षामा युरोप प्रवेश गर्ने आप्रवासीहरूका लागि लोकप्रिय मार्गमा पर्छ।
हालैका दिनहरूमा इटलीले गस्तीमा खटाएका डुङ्गा र सेवामूलक समूहहरूले लाम्पेडुसा पुगेका झन्डै २,००० आप्रवासीको उद्धार गरेका छन्।

ट्यूनिशियामा अफ्रिकी मूलका अश्वेत जातिका मानिसहरूप्रति जातीय विभेद उच्च भएको छ र मानिसहरू डुङ्गा चढेर देशबाट बाहिरिने प्रयासहरू बढेका छन्।