२०८१ श्रावण १२

लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालयले शुरु गरे संयुक्त डिग्री
  • लुम्बिनी खोज
  • २०८० श्रावण २६, शुक्रबार १२:५९ गते

 

बुटवल२६ साउन ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषय प्राध्यापन शुरु गरेका छन् । दुई विश्वविद्यालयको संयुक्त डिग्रीको कक्षा सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा गर्ने भएको हो ।
संयुक्त डिग्रीको शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरेकी छन् । सो अवसरमा बोल्दै राज्यमन्त्री कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले शुरु गरेको शैक्षिक कार्यक्रम कोशेढुंगा सावित हुने बताइन । ‘बुद्ध शिक्षा र पर्यटन एक आपसमा परिपुरक छन, उनले भनिन्, ‘बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नुपर्छ ।
बौद्ध दर्शन र पर्यटनलाई जोडेर शैक्षिक जनशक्ति उत्पादन गर्दा मुलुकको पर्यटन विकासमा ठूलो उपलब्धी हासिल हुने उनले बताइन् । उच्च शिक्षाको गुणस्तरीयताका लागि विश्वविद्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताउदै अन्तर्राष्ट्यि प्रतिष्पर्धी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताइन् । उनले शिक्षा सुधारका लागि शिक्षा ऐन संसदमा आउन लागिरहेको भन्दै उनले ऐन जारी भएपछि शिक्षामा आमुल सुधार हुने विश्वास गरिन ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार डा. तिलकराम आचार्यले काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम शुरु गरिएको बताए । गत असार २१ गते सहकार्य सम्झौता भई एक महिनाभित्रमै शैक्षिक कार्यक्रम सार्वजनिक गरिएको भन्दै यस कार्यक्रमलाई सफल बनाउने दायित्व सबैको रहेकोमा उनले जोड दिए ।
उच्च शिक्षाको गुणस्तरीयतामा राज्यका नेतृत्वकर्ताहरुको विशेष ध्यान जान नसकेको उल्लेख गर्दै उनले विश्वविद्यालयका सभाहरु समेत समयमा हुन नसक्दा महत्वपूर्ण कार्यहरु अलपत्र पर्ने अवस्था आउन नहुने बताए । ‘राज्यका नेतृत्वकर्ता र विश्वविद्यालयका पदाधिकारीहरु उच्च शिक्षाको विकासमा तत्पर भएर जुट्नुपर्छ । सबैमा जिम्मेवारबोध हुनुपर्छ, उनले भने, एकल प्रयासमा शिक्षा क्षेत्रका समस्याहरु समाधान हुन सक्दैनन् ।
कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयहरु खाली भइरहने अवस्था आएको भन्दै अव सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताए । यो शैक्षिक कार्यक्रमले बजारको आवश्यकतालाई पूर्ति गर्ने विश्वास व्यक्त गरे ।
‘पढ्दै र कमाउदै गर्ने शिक्षाको आवश्यकता छ । हाम्रा विश्वविद्यालयहरुमा पनि अन्तर्राष्टिय अभ्यास हुनुपर्छ, उनले भने ‘हस्पिटालिटी र टुरिजम पढाउनका लागि नेपाल आउने वातावरण बनाउनुपर्छ । त्यसले यहाको पर्यटन विकासमा टेवा पुग्नेछ ।’
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुले विश्वविद्यालयहरुबीच टिमवर्कमा कार्य गर्नु पर्ने आवश्यकता रहेकाले काठमाण्डौं विश्वविद्यालयसंग सहकार्यमा शैक्षिक कार्यक्रम शुरु गरिएको बताए । शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयसंग निरन्तर सहकार्य भइरहने उनले बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का दिपेन्द्र पहारी, लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्र कुमार न्यौपाने, उपप्राध्यापक डा. दिपक प्रसाद आचार्य लगायतले पर्यटन तथा शिक्षा क्षेत्रका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय टुरिजम विषय समितिका अध्यक्ष श्रीप्रसाद भट्टराईले हस्पिटालिटी र टुरिजम विषयको विषयमा जानकारी गराएका थिए ।
नया शुरु गरिएको कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना शुरु गरिने जनाइएको छ । बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुने दुई विश्वविद्यालयबीच सहमति भएको छ ।