२०८१ श्रावण १२

पत्रकार नेत्र पन्थीको लेफ्ट–राइट: सत्ता र शक्तिको ’अ’राजनीति“ पुस्तक माथि पाठक परिचर्चा
  • लुम्बिनी खोज
  • २०८० भाद्र २, शनिबार १३:०९ गते

 

बुटवल २ भदौ ।
पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक “लेफ्ट–राइट:सत्ता र शक्तिको ’अ’राजनीति“ पुस्तक माथि पाठक परिचर्चा गरिएको छ । केही साता अगाडी बजारमा आएको पुस्तक माथि शनिवार बुटवलमा गरिएको पाठक परिचर्चामा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुले पुस्तकका बारेमा चर्चा गरे । पुस्तकले नेपालको राजनीतिमा सत्ताका लागि भएका खेलहरुको अनेक अन्तर कथाहरु तथ्यगत रुपमा समेटिएको भन्दै पुस्तकका विभिन्न पक्ष माथि विचार विमर्श गरेका थिए ।


उनीहरुले मुख्य दलका शीर्ष नेताहरू सत्ता र शक्ति प्राप्तिका लागि राजनीतिक मूल्य–मान्यता, इमान्दारिता भन्दा बाहिर कसरी चलखेल गर्दै कस्ता कस्ता कदम चाल्छन भन्ने विषय वस्तु समेटिएको एउटा महत्वपूर्ण दस्तावेजका रुपमा पुस्तक रहेको बताए । सहभागिहरुले पुस्तकका विभिन्न पक्ष माथि टिकाटिप्पणी गर्दै विभिन्न जिज्ञाशा तथा सुझावहरु समेत राखेका थिए । पुस्तक राजनीतिमा रुचि राख्नेका लागि उपयोगी दस्तावेजका रुपमा रहेको भन्दै राजनीतिमा हुने खेलहरु पुस्तकमा पढ्न पाइने उनीहरुले बताए । पुस्तकमा नेपालको राजनीतिमा नेपाल भित्रका खेलका अतिरिक्त विदेशी चलखेल र ती चलखेलमा यहाका दल तथा नेताहरुका खेलहरुका बारेमा समेत विभिन्न खालबाट समेटिएको लेखक तथा टिप्पणीकारहरुले बताए ।
पुस्तक माथि टिप्पणी गर्दै लेखक तथा पत्रकार डी आर घिमिरेले पुस्तकको केन्द्र भागमा पुष्पकमल दाहाल प्रचण्डलाई राखेर सत्ता र शक्तिका लागि भएका खेलहरु गहन र तथ्यगत रुपमा पुस्तकमा समेटिएको बताए । त्यस्तै लेखक तथा साहित्यकारहरु रामचन्द्र श्रेष्ठ, शंकर गाह, मनिकर कार्की, माधबकुमार पौडेल, टोप अस्लामी, बिमल गिरीलगायतले पुस्तकमा समेटिएका विभिन्न पक्ष माथि धारणा राखेका थिए ।
कार्यक्रममा पुस्तकका लेखक पत्रकार नेत्र पन्थीले संविधान जारी पछि राजनीतिक नेताहरु जनताको चाहना अनुरुप देश विकासमा केन्द्रीत हुन्छन भन्ने जन अपेक्ष भए पनि सो अनुरुप नभएको तथ्यहरु पुस्तकमा समेटिएको बताए । पुस्तकमा पार्टीहरुका आन्तरिक झगडा, सत्ता मोह, सत्ता प्राप्ती पछिका परिवार मोहका तथ्यहरु पुस्तकमा समेटिएको उनले बताए ।
शीर्ष नेतृत्वबाट शक्ति र सत्ताका लागि हुने विभिन्न दाउपेच तथा धोकै–धोकाका तथ्यहरू समेटिएको पुस्तकको प्रकाशक सांग्रिला मिडिया ग्रुप प्रालिले रहेको छ । पन्थीका यसअघि डिभोर्स, माओवादीभित्र अन्तरसंघर्ष र युद्धमा प्रेम र यौनलगायतका पुस्तक प्रकाशित छन् ।