२०८१ श्रावण १२

प्रधानन्यायाधीशमा श्रेष्ठ सर्वसम्मत अनुमोदित
  • लुम्बिनी खोज
  • २०८० भाद्र ४, सोमबार ०८:५० गते

काठमाण्डौं ४ भदौ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ। संसदीय विशेष सुनुवाइ समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्ने छन् ।
तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।

२३ साउनमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेर आइतबार सांसदहरूलाई वितरण गरेको संसदीय समितिले सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गभएको थियो। त्यसपछि बसेको समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।

उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् । संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ ।