२०८१ श्रावण १२

डोनल्ड ट्रम्प जेलमा हाजिर,२ लाख डलरको जमानतमा रिहा
  • लुम्बिनी खोज
  • २०८० भाद्र ८, शुक्रबार ०९:१६ गते

बुटवल ८ भदौ ।
पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्दोबस्त गरिएको थियो।
त्यहाँ उनका औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको थियो। लगत्तै उक्त फोटो सार्वजनिक गरियो। छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भए।

उनी त्यसपछि जोर्जियाबाट फर्किँदै छन्। बीबीसीका अनुसार ह्वाइट हाउस छोडेपछि डोनल्ड ट्रम्पले भने, ुहामी फर्किनेछौँु
अघिल्लो राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन्।

उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भन्दै अस्वीकार गर्दै आएका छन्। फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जोर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ज गरिएको छ।
ट्रम्पले आफूविरुद्ध राजनीति प्रेरित अभियोगहरू लगाइएको बताएका छन् ।जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए।

त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए। “निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ। मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो,” उनको विमानबाहिर पर्खिरहेका पत्रकारहरूलाई उनले भने। “मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ।”
उनले यसअघि चुनाव हारेपछि विरोध जनाएका दुई डेमोक्र्याट नेताहरूको उदाहरण दिए – हिलरी क्लिन्टन जसले सन् २०१६ मा उनीसँग पराजय बेहोरेकी थिइन् अनि स्टेसी एब्राम्स जसले सन् २०१८ मा जोर्जियाको गभर्नर पदको चुनाव हारेकी थिइन्।
तर खासमा ट्रम्पलाई चुनावी नतिजाप्रति आपत्ति जनाएकोमा अभियोग लगाइएको भने होइन। उनलाई निर्वाचन प्रक्रियामा नै प्रभाव पार्ने गरी गैरकानुनी कार्य गरेको अभियोग लागेका छन्।
सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न आँटेका ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो।
यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए।
थप सात जना प्रतिवादीहरूले त्यहाँ आत्मसमर्पण गर्ने फुल्टन काउन्टी शेरिफ कार्यालयले जनाएको छ। यसबीच एक जना पूर्व सङ्घीय अभियोजनकर्ता तथा एफबीआईका परामर्शदाता जोसेफ मोरेनोले जोर्जिया मामिला लगायत ट्रम्पले सामना गरिरहेको अन्य तीन फौजदारी मामिलाका अदालती सुनुवाइ प्रक्रिया सुरु हुन लामो समय लाग्न सक्ने बताएका छन्। (बीबीसी बाट)