२०८१ श्रावण १२

ओलीले सर्वदलीय बैठकमा निषेध गरे: माधव नेपाल
  • लुम्बिनी खोज
  • २०८० भाद्र ९, शनिबार १२:३६ गते

काठमाण्डौं ९ भदौ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको बताएका हुन्।सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले गरेको संसद अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले अघिल्लो हप्ता राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको बैठक बोलाएका थिए ।राष्ट्रिय मान्यता पाउने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र भएकाले एकीकृत समाजवादी पार्टीलाई उक्त बैठकमा बोलाइएको थिएन । अध्यक्ष नेपालले सो बैठकमा आफूहरुलाई नबोलाउनुको कारण ओलीको अनिच्छा भएको बताएका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर आफ्नो पार्टीलाई सहभागी नगराएको नेपालको भनाई थियो।
‘ओलीले यो पार्टीको मतलव नै नराख्ने। हुँदाहुँदा हिजोअस्ति त संसदमा अरू सबै पार्टी हुन्छ, तर एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्। र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी। राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्,’ उनले भने।

अध्यक्ष नेपालले नेकपा ब्युँताउने आफ्नो प्रस्तावसमेत ओलीले लत्याएको दोहोर्‍याए। विगतमा राष्ट्रपति पद पाउनका लागि आफूसँग भेट्न खोज्ने ओलीले अहिले आफ्नो पार्टीलाई निषेध गरेको नेपालको भनाइ छ।