२०८१ श्रावण १२

बाँकेमा बस दुर्घटना,सातको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० भाद्र २३, शनिबार ०९:४३ गते

नेपालगञ्ज २३ भदौ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ शमशेरगन्जमा शुक्रबार राति बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ना७ख २३२१ नम्बरको बस राति सवा ९ बजे बिग्रेर रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । बसमा ४१ यात्रु रहेको प्रहरीले जनाएको छ । ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समितिको टोली दाङको धारापानी भ्रमणबाट फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, अन्दाजी ४० वर्षीया जयन्ती थारू, वडा नम्बर ७ का ६५ वर्षीय साधुराम थारू, वडा नम्बर ८ का ४५ वर्षका जुगबहादुर चन्द र नामथर नखुलेका गाडी स्टाफको ज्यान गएको छ । सनाखत नभएका गाडी स्टाफ पनि ठाकुरबाबाकै भएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।