२०८१ श्रावण १२

नयाँदिल्लीमा जी–२० को १८औँ शिखर सम्मेलन, रुस र चीनका सरकार प्रमुख अनुपस्थित
  • लुम्बिनी खोज
  • २०८० भाद्र २३, शनिबार ११:०३ गते

बुटवल २३ भदौ ।
भारतको नयाँ दिल्लीमा आजदेखि जी–२० को शिखर सम्मेलन सुरू भएको छ ।सम्मेलनको मूल विषय बसुदैव कुटुम्बकम् अर्थात् वान अर्थ– वान फेमिली–वान फ्युचर (एक पृथ्वी–एक परिवार–एक भविष्य)को सन्देशसहित नयाँ दिल्लीको मण्डमपमा सुरू भएको सम्मेलनमा विभिन्न शक्तिराष्ट्रका प्रमुख र प्रतिनिधिहरू उपस्थित छन्।
सम्मेलनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडेन, जर्मन चान्सलर ओलाफ शोल्तनज, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदालगायत सहभागी छन्।
दक्षिण एसियाको एक मात्र सदस्य भारतले गर्न लागेको दुईदिने सम्मेलन दक्षिण एसियाकै पहिलो हो । सम्मेलन साझा दस्ताबेजमा हस्ताक्षर गरी आइतबार सम्पन्न गर्ने तयारी छ । तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ भने अनुपस्थित भएकाले शिखर सम्मेलनले महत्वपूर्ण मुद्दामा साझा धारणा बनाउनेमा आशंका छ ।

जी–२० शिखर सम्मेलनलाई विश्वले नै चासोको साथ हेर्ने गर्छ । विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत ओगटेका मुलुकहरूको समूह जी–२० मा विश्वका करिब ६० प्रतिशत जनसंख्या छ ।

१५ वर्षअघिको आर्थिक संकटका वेला विश्व अर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा संगठनका रूपमा जी–२० स्थापना भएको हो । यसले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषय केन्द्रमा राखेको छ ।

जी–२० मा १९ देश र युरोपियन युनियन गरी २० सदस्य छन् । भारत, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रसिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका र युरोपियन युनियन जी–२० का सदस्य हुन् ।