२०८१ श्रावण १२

एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर, सचिवमा हरि पराजुली थपिए
  • लुम्बिनी खोज
  • २०८० भाद्र २८, बिहीबार १५:५१ गते

 

काठमाडौँ २८ भदौ ।
नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् । महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामका साथै मोर्चा संगठनका कामको विशेष अनुगमन गर्नेछन् ।
त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रुपमा रहनेछन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ । पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन् ।

 पराजुलीलाई सचिवमा मनोनीत

एकीकृत समाजवादीले हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको छ । पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उनीहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।
केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनीत भएका छन् । केन्द्रीय अनुशासन, लेखा परीक्षण र निर्वाचन आयोगको अध्यक्ष र सदस्यहरु तोकिएका छन् । अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा छन् भने उपाध्यक्षमा लेखनाथ गुरागाईं र सचिवमा बालचन्द्र मिश्र छन् ।

लेखा परीक्षण आयोगको अध्यक्षमा भरतकुमार श्रेष्ठ, उपाध्यक्षमा विद्या ढकाल र सचिवमा सुशील ढुंगाना छन् । निर्वाचन आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा चन्द्रकान्त ज्ञवाली र सचिवमा रोशन सुवेदी छन् । एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन पनि हेरफेर गरेको छ ।