२०८१ श्रावण १२

सर्वोच्चले ‘रिगल’लाई माफी दिनुको लिखित कारण माग्यो
  • लुम्बिनी खोज
  • २०८० आश्विन १८, बिहीबार १२:०७ गते

काठमाण्डौं १८ असोज ।
सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को बाँकी कैद सजाय कट्टा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको हो।
बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ। इजालसले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।

इजलासले रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदक तथा निजका परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा प्रदान गर्न र गराउन गृह मन्त्रालयलाई लेखी पठाउनसमेत आदेश दिएको छ ।
इजलासले रिगलको हकमा यही असोज ३ गते राष्ट्रपतिद्वारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल महान्यायाधिवक्ताको कार्यालयमार्फत असोज २४ गतेभित्र झिकाउन समेत आदेश दिएको छ ।

रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।भारतीले न्याय माग्दै बुधबार दिउँसो माइतीघर मण्डलबाट अनशन समेत सुरू गरेकी छन्।