२०८१ कार्तिक ६

बुटवल उवासंघको ७० औं साधारणसभा तथा २५ औं अधिबेशन, अर्थतन्त्रमा सुधार उन्मुखः महासंघ अध्यक्ष ढकाल
  • लुम्बिनी खोज
  • २०८० आश्विन १९, शुक्रबार १३:२२ गते

बुटवल,१९ असोज ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार उन्मुख रहेको बताएका छन् ।
अर्थतन्त्रमा कोरोना महामारीको असरले विश्वब्यापी रुपमा नै समस्या रहेपनि पछिल्लो समयमा क्रमश सुधार हुदै गएको धारणा राख्दै नेपालमा अवसर र संभावना प्रचूर मात्रामा रहेकाले निराश र नकरात्मक हुन नहुने पनि बताएका छन् ।
बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिबेशनको शुक्रवार बुटवलमा उद्घाटन गर्दै ढकालले नेपालमा पर्यटनको संख्यामा वृद्धि हुदै गएको तथा नीजि क्षेत्रले दिएका सुझावहरु केही मात्रमा भएपनि सम्वोधन हुन थालेकाले अब सहज बाताबरण बन्दै जाने विश्वास ब्यक्त गरे । महासंघले दिएका सुझाव कार्यान्वयनमा विगतमा सरकारी निकायले चासो नदिदा समस्या सम्वोधन हुन नसकेको भएपनि पछिललो समयमा दवाव र सुझावबाट नै सरकार तथा राष्ट्र बैक नरम बन्दै गएको विचार पनि उनले राखे ।
निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आत्मसाथ गरेर सोही अनुसार नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा सुधार आउन थालेको पनि ढकालले बताएका छन् । अध्यक्ष ढकालले विगतमा नेपाल उद्योग बाणिज्य महासंघसहितका नीजि क्षेत्रले दिने सुझावलाई सरकारले बेवास्ता गर्दा समस्या हुने गरेकोमा अहिले सुधार भएको बताए । विगतमा निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि दिएका सुझावलाई सरकारी निकायले उद्योगी व्यवसायीको स्वार्थ र फाइदाका लागि मात्रै दिएका सुझाव ठान्दा समस्या भएको भन्दै उनले वास्तवमा निजी क्षेत्रले आफ्ना लागि नभई समग्र अर्थतन्त्र सुधार गर्न सुझावहरु दिने गरेको थियो, सरकारी निकायले बल्ल अहिले महसुस गरेर सुधार गर्न थालेपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघको सातवटै प्रदेश सरकारसंग मिलेर सातै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेको भन्दै त्यसले पनि अर्थतन्त्र चलायमान गराउन मद्दत मिल्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने धारणा राखिन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, महासंघका पुर्व उपाध्यक्ष किशोर प्रधान, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू , संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु सुरेन्द्रप्रसाद श्रेष्ठ, निर्मलप्रसाद लाकौल, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल, संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,महासचिव विमलराज भट्टराईलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट सञ्जु पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट उद्योगी व्यवसायीलाई पनि सम्मान गरिएको थियो ।
संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो ।