२०८१ श्रावण १२

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल विजयी
  • लुम्बिनी खोज
  • २०८० आश्विन २३, मंगलवार ०६:३९ गते

 

बुटवल २३ असोज ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । दुइ प्यानल चुनावी मैदानमा उत्रिएकोमा अधिकांशमा अर्याल प्यानका विजयी भएका छन् । संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा अर्याल विजयी भएका हुन । अर्यालले अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मत अन्तरले पराजित गरेका छन् ।
अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत र अर्का प्रत्यासी श्रेष्ठले ६८९ मत प्राप्त गरेकोे प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । संघको निर्वाचनमा १ हजार ७ सय ७८ सदस्य मतदाता रहेकोमा १ हजार ५ सय ६ मत खसेको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई निर्बिरोध निर्वाचित भएका छन् । अर्याल र श्रेष्ठको दुई प्यानल चुनावी मैदानमा उत्रिएकामा अधिकांश पदमा अर्याल प्यानल विजयी भएको छ ।
उद्योग उपाध्यक्षमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरेका छन् । महासचिवमा ७६० मत सहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा ८०९ मत सहित बसन्तप्रसाद ढकाल, सचिवमा ७२३ मत सहित प्रतीक पोखरेल र सहकोषाध्यक्षमा ८३० मत सहित धनकुमारी खनाल (सविता) निर्वाचित भएकी छिन् । पदाधिकारीमा सचिव बाहेक सबै अर्याल प्यानलबाट विजयी भएका छन् ।
त्यसैगरी एक एशोसियट सदस्यमा ७५१ मत सहित बालकृष्ण पौडेल निर्वाचित भएका छन् । चार उद्योग सदस्यमा दीपकप्रसाद चापागाई, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित भएका छन् ।
त्यस्तै सात खुल्ला सदस्य पदमा बिष्णु (कमला) घिमिरे पन्त, बिष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्य पदमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित भएका छन् ।