२०८१ श्रावण १२

टाउको गनेर तालाबन्दी नगरौंः महासंघ अध्यक्ष पोखरेल
  • लुम्बिनी खोज
  • २०८० आश्विन २८, आईतवार ११:१८ गते

 

बुटवल २८ असोज ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंक गणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा गरेको शूभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धिकरणको बिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन ।
‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धिकरण गरिएको हो, विजयादशमीको शूभकामना दिदैं म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओझ घट्ने हो’ अध्यक्ष पोखरेलले भने –‘संवाद गरौं, सहकार्य गरौं, विधान र शुद्धिकरण अनुसार नयाँ कोर्समा अगाडि बढौं ।’
उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमा मात्रै सिमित नहुन आग्रह गरे । ‘एउटा संख्या बढि र तल हुँदमा चुनाव जित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ, शुद्धिकरणले गर्न खोजेको त्यही हो।’ र माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन’ उनले भने । उनले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए । उनले विगतमा निषेध गरिएपनि अब त्यसो हुन दिन नहुने उनको भनाई छ । कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धिकरण गरिएको बताए । ‘शुद्धिकरण मार्फत सुधारको प्रयत्न गरिएको हो’ अध्यक्ष पोख्रेलले भने ।
अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नै मोफसलको राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गरे । उनले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए। ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो’ उनले भने ।
उनले दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता पर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरुमा तडकभडक र विकृतीहरु देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए । उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरुले सबैलाई एकतामा जोड्नुपर्ने बताए । उनले महासंघले रुपन्देहीका सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर शूभकामना आदान प्रदान गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार, राजनैतिक पार्टीका जिल्ला नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरुको उपस्थिती रहेको सचिव विनोद परियारले जानकारी दिए ।