२०८१ कार्तिक ६

कांग्रेसले गर्‍यो चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० कार्तिक ११, शनिबार १२:३४ गते

काठमाडौँ ११ कात्तिक ।
नेपाली कांग्रेसले दसैं, तिहार, नेपाल सम्वत् र छठलगायत चाडपर्वको अवसरमा शनिबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सानेपास्थित केन्द्रीय मुख्यालयमा आयोजित कार्यक्रममा सत्तासाझेदारदेखि विपक्षी दलका नेताहरू सम्म सहभागी भए ।
सुस्वास्थ्य र दीर्घायूका लागि नेताहरुले एक आपसमा शुभकामना आदान प्रदान समेत गरे । चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित शीर्ष नेताहरू पुगेका थिए । उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सानेपामा स्वागत गरे ।
कार्यक्रममा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, माओवादी केन्द्रका नेताहरू अग्नि सापकोटा, हितराज पाण्डेलगायत सहभागी थिए ।

वि।सं। २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालको कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम आयोजना गरेका थिए । ०३८ सालसम्म बीपीले नै त्यसलाई निरन्तरता दिए । त्यसपछि पार्टीका सभापतिहरूले प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाको सन्दर्भमा चियापान कार्यक्रम गर्दै आएका छन् । कांग्रेसले प्रत्येक वर्ष दसैंको अवसरमा चियापन गर्दै आएको छ । पार्टी सभापति नभए पनि गणेशमान सिंहले उक्त परम्परालाई कायम राखेका थिए ।