२०८१ श्रावण १२

टी–२० विश्वकप छनोटमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १३, सोमबार १४:४७ गते

काठमाडौँ १३ कात्तिक।
अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलको जवाफी ब्याटिङमा १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
कुशल भुर्तेलले टोलीका लागि ७४ रनको योगदान गरे । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।
नेपालको पहिलो विकेटका रूपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनले टोलीका लागि २७ रनको योगदान गरेका थिए ।
त्यसपछि कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नेपालको पाली समालेका थिए । उनीहरूले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय ४१ रनसम्म पुर्‍याएका थिए । कप्तान रोहितले टोलीका लागि ३५ रनको योगदान गरे ।
कुशल मल्लले अविजित ६ रन बनाए । नेपालले आफ्नो दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

त्यसअघि सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् ।

त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइन चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।