२०८१ श्रावण १२

महासचिव गुटरेसको लुम्बिनी भ्रमण मंगलबार, लुम्बिनीबाट विश्व शान्तिको अपिल गरिने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १३, सोमबार १५:१५ गते

लुम्बिनी, १३ कार्तिक ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनीमा हुने भ्रमणको तयारी पूरा भएको छ । मंगलबार विहान बुद्धजन्मस्थल लुम्बिनीमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड पनि महासचिव गुटरेसको लुम्बिनी भ्रमण सहभागि हुने भएका छन् । महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा आईतबार विहान नेपाल आएका हुन । लुम्बिनी विकास कोषले महासचिव गुटरेसको भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिवको भ्रमणको सबै तयारी पूरा भएको बताए ।
महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामि दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उनले बताए । ‘महासचिव आउनु नै हाम्रो लागि गौरवको बिषय हो, गुटरेसको भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’ उनले भने । महासचिवलाई बुद्धजन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा.लामाले बताए । लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै यो भ्रमणले लुम्बिनीको विकासमा थप टेवा पुग्ने विश्वास गरेको बताए। ‘‘प्रधानमन्त्री ज्यूको निमन्त्रणामा नेपाल आउनुभएका महासचिवको लुम्बिनी भ्रमण हाम्रा लागि मात्रै नभई नेपालकै लागि गौरव हो, उहाँले यहाँबाट विश्व शान्तिका लागि सन्देश पनि दिनुहुनेछ’ उपाध्यक्ष डा.लामाले भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत बिशेष अनुरोध गरेकाले महासचिव गुटरेससँगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको जानकारी दिए ।
गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनले नेपालले ऊ थान्तको समयमा संयुक्त राष्ट्र संंघको पहलमा शुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहरुको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनस्मरण गराइने बताए । बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए ।
कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मंगलबार महासचिव गुटरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरि तयारी भईरहेको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
उनका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरी अधिकारीहरुले स्वागत गर्नेछन् ।
महासचिव गुटरेस मंगलबार विहान ८ः ३५ मा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा विहान ८ः ५० बजे लुम्बिनीमा आइपुग्नेछन् । गुटरेसलाई हेलिप्याडबाट गाडीबाट चार नम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ । कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन् ।
गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०ः ३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ । महासचिव गुटरेसले लुम्बिनीमा सालको रुख बृक्षारोपण गर्नेछन् । नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । महासचिवको भ्रमणलाई लिएर कोषले सरसफाई, स्वागत सत्कार जस्ता आवश्यक सम्पूर्ण तयारी पुरा गरेको योजना प्रमुुख सरोज भट्टराईले बताए । उनले प्रधानमन्त्रीसँगै महासचिवको भ्रमण हुने भएकाले यसको बिशेष महत्व रहेको बताए ।
कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । पत्रकारहरुसँग गुटरेसले बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने बताइएको छ ।

गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ। लुम्बिनीभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ। भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए।

संयुक्त राष्ट्र संघका महासचिवको रुपमा गुरेसको लुम्बिनी भ्रमण छैटौं हो । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उहाँ सहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाईला टेक्नेछन । संयुक्त राष्ट्रसंघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ।संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।