२०८१ श्रावण १२

सामूहिक विकास सहकारीको साधारणसभा
  • लुम्बिनी खोज
  • २०७८ माघ ११, मंगलवार ११:२० गते

बुटवल, ११ माघ ।
सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । अनुत्पादक क्षेत्रमा भन्दा आयआर्जन बढाउने क्षेत्रमा लगानी वृद्धि गर्ने हो भने त्यसले सहकारीका सदस्यहरुको जीवनस्तर मथि उठ्ने र मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए ।
सामूहिक विकास सहकारी संस्था लिमिटेड तिलोत्तमा–३ रुपन्देहीको २७ औं वार्षिक साधारणसभा एवं एकीकरणपछिको प्रथम साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरीले सहकारीले तीनखम्बे अर्थनीति अनुरुप भूमिका निर्वाह गर्न नसकेको बताए । सहकारी क्षेत्रको लागि अनुकुल कानुन निर्माण हुन नसक्दा तीनखम्बे अर्थनीति अनुसार सहकारी क्षेत्रको भूमिका नदेखिएको उनको भनाई छ ।
सांसद गिरीले कतिपय ठाउँमा सहकारीका नाममा ठगीधन्दा मौलाएको र राज्य यसमा उदासीन बनेको आरोप लगाउँदै तर समूहिक विकास सहकारीले भने सहकारीताको क्षेत्रमा महत्वपूर्ण उपलव्धि हासिल गरेको बताए ।
जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईले सहकारीको मूल्य मान्यता अनुसार सहकारी क्षेत्र अगाडि बढ्नुपर्नेमा जोड दिंदै कतिपय ठूला सहकारीहरुमा संस्कार हराउँदै गएको र अहंकार बढ्दै गएको बताए । आयआर्जनको क्षेत्रमा लगानी बढाउन सुझाव दिंदै उनले यसबाट मात्रै मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । सानो पुँजीबाट उद्यम गर्न चाहनेहरुका लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै उनले प्रतिफलमुखी क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे ।
त्यस अवसरमा संस्थाका अध्यक्ष सुरेन्द्र बर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा तिलोत्तमा–१ का वडाअध्यक्ष तामानाथ पाण्डे, शेयर सदस्यहरु राम गिरी, राश्री गौतम आत्रेय, संस्थाका उपाध्यक्ष लक्ष्मण ज्ञवाली, सचिव मिनप्रसाद पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साविकका मणिप्रभा बचत तथा क्रृण सहकारी संस्था, सूर्यकिरण बचत तथा क्रृण सहकारी संस्था र द्रव्यान्जली बचत तथा क्रृण सहकारी संस्था सामूहिकमा गाभिएपछि मंगलबार प्रथम एकीकृत साधारणसभा भएको हो । एकीकरण भएसँगै सहकारीको कुल शेयर सदस्य संख्या ९ हजार ५४६ पुगेको छ ।
कार्यक्रममा साविकका चारवटै सहकारीका सञ्चालक, लेखा समिति, विभिन्न क्षेत्रमा उत्कृष्टहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
एकीकरणपछि सहकारीको शेयर पुँजी ३० करोड १५ लाख ८२ हजार पुगेको छ भने बचत दुई अर्व ३३ करोड ९१ लाख ४५ हजार ३८७ पुगेको छ । त्यस्तै सहकारीले दुई अर्व २६ करोड २० लाख ७० हजार ६८८ लगानी गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले जानकारी दिए । त्यस्तै सहकारीको एकीकृत वासलात तीन अर्व दुई करोड ७१ लाख ८० हजार ७९७ पुगेको छ ।