२०८१ श्रावण १२

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस बुद्ध जन्मस्थलमा
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १४, मंगलवार ०७:१८ गते

लुम्बिनी १४ कात्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। महासचिव गुटेरेज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि हेलिकोप्टरमार्फत लुम्बिनी आइपुगेका हुन्।

मंगलबार बिहान लुम्बिनी आइपुगेका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री दानबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामालगायतको टोलीले स्वागत गरेको थियो।
हेलिप्याडदेखि ४ नम्बर गेट हुँदै शान्तिदीप पुगेका गुटेरेसलाई लुम्बिनी होटेल संघका पदाधिकारीहरू, स्थानीय आमा समूहहरू, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरूको टोलीले स्वागत गरेको थियो।

गुटेरेसले लुम्बिनीमा एक घन्टा ३० मिनेट बिताउनेछन्। महासचिव गुटेरेसले मायादेवी मन्दिरमा फूल र खादा चढाउने कार्यक्रम छ। त्यसपछि पत्रकारहरूसमक्ष विश्वशान्तिको कामनासँगै आफ्नो भ्रमणको औपचारिक सन्देश दिने कार्यक्रम छ।

गुटेरेसको सुरक्षालाई मध्यनजर गर्दै लुम्बिनी विकास कोषले चार र पाँच नम्बर गेटदेखि भित्र प्रवेश गर्न, मायादेवी मन्दिर, कपाल मुण्डन क्षेत्र र शान्तिदीपवरपर बिहान ६ बजेदेखि ११ बजेसम्म सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ।संयुक्त राष्ट्र संघका महासचिवको रुपमा गुरेसको लुम्बिनी भ्रमण छैटौं हो । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उहाँ सहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाईला टेक्नेछन । संयुक्त राष्ट्रसंघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ।संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।