२०८१ आश्विन ३

बुद्ध जन्म भुमिबाट राष्ट्रसंघका महासचिवले गरे शान्तिको आब्हान
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १४, मंगलवार १०:५५ गते

लुम्बिनी १४ कात्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर भइरहेका द्वन्द्व अन्त्यका लागि आह्वान पनि गरेका छन्। इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आह्वान गरे।युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्दै उनले युक्रेन, रसिया, इजरायल, प्लानेस्टाइनजस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकाले शान्ति स्थापनाका लागि लाग्न सबैलाई आग्रह गरे।

बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि बोल्दै उनले विश्वभर भइरहेका द्वन्द्व अन्त्यका लागि आह्वान गरे। ‘शान्ति र मानवता अपरिहार्य विषय हो, मानवीयता मर्न दिनुहुन्न, बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ। यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ,’ गुटेरेसले भने। बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरे।संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको उनले बताए। भगवान् गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए। उनले लुम्बिनी मायादेवी मन्दिरअगाडि वृक्षरोपणसमेत गरेका थिए।

महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु–भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए।महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामालगायतले स्वागत गरेका थिए।