२०८२ असार ९
बुुटवल,१३ माघ । लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन ।
नेकपा एकिकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेद्वारलाई विहिबार बुटवलमा गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वाेपरी मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन । नेकपा एकिकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरेले जनता र संविधान रक्षामा लाग्ने बताईन । उनले गठबन्धनका उम्मेद्वारको विजयले प्रतिगमनकारी र दम्भीहरु पराजित भएको बताईन । राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताए । नेपाली काँग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन । उक्त अवसरमा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशमा सचेत जनप्रतिनिधिले फ्लोरक्रस गरेर समेत गठबन्धनका उम्मेद्वारलाई भोट दिएको बताए । उनले बहुदल र गणतन्त्र ल्याउन विगतमा वामपन्थी र प्रजातान्त्रिक शक्तिको गठबन्धन सफल भएको चर्चा गर्दै अहिले गठबन्धनले केपि ओलीले चालेको संविधान विरोधी र प्रतिगमनकारी कदमलाई परास्त गरेको बताए ।
उक्त अवसरमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल््ला उपसचिव सरिता श्रीसले गठबन्धनबाट विजयी भएकाहरुलाई जनता र संविधानको पक्षमा दृढताका साथ उभिन शुभकामना दिए । लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भएका थिए ।