२०८१ श्रावण १२

कोशीले पारित गर्‍यो प्रतिस्थापन बजेट विधेयक
  • लुम्बिनी खोज
  • २०८० मंसिर ९, शनिबार १२:३१ गते

विराटनगर ९ मंसिर ।
कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो ।

सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नियावली, २०७४ को ९पहिलो संशोधनसमेत० नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए। सो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्तुत गर्दा सदनले सर्वसम्मतिले पारित गरेको हो ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकअनुसार चालु आवका लागि कूल ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार बजेटमा पुँजीगत खर्च २० अर्ब ३८ करोड ५० लाख ८२ हजार रुपैयाँ र चालु खर्च १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार रुपैयाँ विनियोजन भएको छ। बजेटमा तीन करोड ४७ लाख ८५ हजार रुपैयाँ थप व्ययभार हुने उल्लेख छ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै जनताको आवश्यकता र समस्यालाई समाधान गर्नेगरी बजेट विनियोजन गरेको दाबी गरे। समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्नेगरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको भन्दै उनले विकास र समुन्नत प्रदेशको यात्रा प्रारम्भ भएको दाबी गरे। बैठक आइतबार बिहान ११ बजे बस्नेछ।