२०८१ श्रावण १२

कांग्रेसको लुम्बिनीको प्रथम सम्मेलन १६ र १७ मा
  • लुम्बिनी खोज
  • २०८० मंसिर ११, सोमबार १०:१५ गते

बुटवल ११ मंसिर ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन यही मंसिर १६ र १७ गते बुटवलमा हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टीका लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुनले बताएका छन् ।
सम्मेलनको तयारीका बारेमा आज बुटवलमा पत्रकार सम्मेलन गरेर दिइएको जानाकारी अनुसार मंसिर १६ गते उद्घाटनसत्र तथा १७ गते बन्दसत्र गर्ने कार्यतालिका रहेको छ । सम्मेलनलाई पार्टी सभापति शेरबहादेर देउवासहित नेता शेखर कोइराला, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, संसदीय व्यवस्था तथा कानुन मन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहने छ ।प्रदेश सम्मेलन भन्दा अगाडी प्रदेशका १२ जिल्ला मध्ये १० वटाको सम्मेलन सम्पन्न गरिसक्ने कांग्रेसको तयारी छ । सम्मेलनमा ती जिल्लाहरुबाट आएका प्रतिवेदनदेखि प्रदेशले हालसम्म काम गर्दा आएका विषय वस्तुहरु देखि संघीयता कार्यान्वय तथा विभिन्न विषयमा छलफल हुने सभापति पुनले बताए ।
संघीयता कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारको भुमिका देखि कांग्रेस पार्टीलाई बलियो पार्टीका रुपमा अगाडी बढाउने विषय देखि समसामयिक विषयमा मसिनो गरी छलफल हुने र छलफलबाट निस्केका विषयवस्तु समेटिएको प्रतिवेदनलाई पार्टीको आगामी महासमिति बैठकमा पेश गरिने काँग्रेसले जनाएको छ ।
सम्मेलनका लागि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लेखनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ भने तयारीका लागि प्रचारप्रसार समिति, अतिथि सत्कार समिति लगायतका उपसमिति गठन गरि कामहरु भइरहेका छन् । ती समितिहरुले तयार पारेका प्रतिवेदनहरुलाई मंसिर १३ गते बस्ने लुम्बिनी प्रदेश कमिटीको बैठकले अन्तिम रुप दिने सभापति पुनले बताए ।