२०८१ श्रावण १२

लुम्बिनी एक्स्पो २०८० तयारीबारे वित्तिय संस्थाका प्रतिनिधिहरुसंग छलफल
  • लुम्बिनी खोज
  • २०८० मंसिर १३, बुधबार ०८:१० गते

बुटवल, १३ मंसिर ।
रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० को तयारीका क्रममा रुपन्देहीमा रहेका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुसंग छलफल भएको छ । त्यसक्रममा एक्स्पोलाई व्यवस्थित रुपमा सम्पन्न गर्न वित्तिय संस्थाहरुबाट गरिने सहयोग तथा उपभोक्ताहरुलाई दिने सेवाका बारेमा छलफल भएको वित्तिय संस्था समन्वय समितिका संयोजक मणि खनालले बताए ।
एक्स्पो सञ्चालन गर्दा बैंक तथा वित्तिय संस्थाहरुको सहभागी बढीभन्दा बढी गराउन जोड दिदै वर्तमान आर्थिक मन्दीको अवस्थामा एक्स्पोमा बैकहरुको सहभागीताले धेरै अर्थ राख्ने धारणा राखिएको थियो । छलफलमा एक्स्पोमा वित्तिय साक्षरता तथा लगानीका क्षेत्रहरुको पहिचान गर्न बैकहरु प्रत्यक्ष सहभागी हुनु पर्ने कुरामा जोड दिदै त्यसमा निर्वाहा गर्नु पर्ने भूमिका र जिम्मेवारीतर्फ गम्भिर बन्न आग्रह गरिएको थियो ।
एक्स्पो आयोजनास्थल बुटवल मण्डपमा भएको छलफलमा संघका अध्यक्ष एंव एक्स्पो मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले बजारमा देखिएको आर्थिक मन्दी र त्यसबाट व्यापार व्यवसायमा देखिएको समस्या समाधान गर्न यस्ता कार्यक्रमहरुमा वैक वित्तिय संस्थाहरुको सहभागीता जरुरी रहेको बताए । अध्यक्ष घिमिरेले एक्स्पोको तयारीका बारेमा जानकारी गराउदै आयोजना सम्पन्न गर्न सबैको सक्रिय सहभागिताको लागि आग्रह गरे ।
छलफलमा संघका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक ऋषिराम पाण्डेले एक्स्पोमा बैक तथा वित्तिय संस्थाको सहभागिता आर्थिक लाभहानी मात्र नभएर आर्थिक गतिविधिकाबारेमा सेवाग्रहीलाई जानकारी गराउने अवसर पनि भएको बताए । उनले बुटवलमा हुने मेला प्रदर्शनीहरुले अर्थतन्त्रलाई चलायमान गराउने हुदाँ त्यसमा वैक तथा वित्तिय संस्थाहरुको भूमिका महत्वपूर्ण हुन बताए ।
छलफलमा बैक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुले एक्स्पो सफल बनाउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबै व्यवसायीहरुमा उर्जा थप्ने काममा लाग्ने बताएका थिए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड, बुटवलकी प्रतिक्षा सुवेदी, कृषि विकास बैंक, भैरहवाकी सीमा बन, राष्ट्रिय वाणिज्य बैंक, बुटवलका मदनराज डोटेल, संघका सचिव फर्सुराम पन्थ, महासचिव दयानिधि भण्डारी, सहकोषाध्यक्ष मणि खनाल लगायतले कार्यक्रमका बारेमा धारणा राखेका थिए ।
प्रदर्शनी स्थलमा एक्स्पोको आवश्यक तयारीका काम अन्तरगत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको स्टल निमार्ण उपसमितिका संयोजक तथा संघका उपाध्यक्ष प्रकाश ढकालले बताए । ढकालका अनुसार एक्स्पोमा राखिने दैनिक उपभोग्य वस्तु, कपडा, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स सूचना प्रविधि लगायतका उत्पादनका लागि ५ सय भन्दा बढी स्टलहरु तयार गर्ने र तिनीहरुलाई छुट्टाछुट्टै पेभिलियन निमार्ण गरिने छ ।
एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलासफलताका साथ सम्पन्न गरि सकेको छ ।